भिडियो हेर्न तल को बक्समा क्लिक गर्नुहोस
कालोनिलो वर्ण भएकी १० हातमा राक्षसको टाउको र अस्त्र धारण गरेर २ हातले रगत थापेकी, शिवको छात्तीमा टेकेकी ‘महाकाली’ को तस्विर देखेकै हो। उनको यस्तो भयंकर अनि डरलाग्दो रूप त्यसमाथि रगत पिएको भए पनि उनलाई देवीको रुपमा लिइन्छ। कतिले उनलाई शिवकै क्रोधको रूप पनि मान्छन् भने कत्तिले पार्वतीको वास्तविक रूप ठान्छन्।
तर, यथार्थ के हो? कसरी भयो यस्तो डरलाग्दो भयंकर कालीको जन्म? के उनी खराब देवी हुन्?
हरेक आत्मामा असल र खराब गुण हुन्छ भनेर धर्मले नै बयान गरेको छ। यो सब व्यक्तिको कर्मले निर्धारण गर्ने कुरा हो। यो सिद्धान्त ‘तान्त्रिक विद्या’मा पनि लागू हुन्छ। हुन त तन्त्रलाई कालो विद्या पनि भनिन्छ, तर यहि कालो विद्या मानिसको हीतको लागि पनि प्रयोग गर्न सकिन्छ।
कालीको जन्म कसरी भयो?
अन्धक नामक एक भयंकर शक्तिशाली व्यक्तिसँग शिवको युद्ध हुँदा कालीको जन्म भएको थियो। ‘अन्धक’ एक अन्धा व्यक्ति थिए, जसको जन्म शिवको पसिनाको थोपाबाट भएको मानिन्छ। शिवको पसिनाको थोपा भुइँमा खस्ने बेला उनले आँखा चिम्लेको हुनाले नै अन्धा अन्धक जन्मेका थिए, जसलाई अन्धकार, घृणा र अहङ्कारसिवाय अरू केहि थाहा थिएन। साथै पसिनाको थोपाबाटै उनको उत्पत्ति भएको हुनाले उनले आफूलाई कसैले पनि कुनै वस्तुले पनि काट्न नसक्ने शक्ति पाएका थिए। यदि उसलाई काट्न प्रयत्न गर्यो भने पनि उसको रगत जमीनमा खसेर फेरि अर्को अन्धकको जन्म हुन्थ्यो। उसलाई पराजय गर्ने एउटै मात्र उपाय भनेको कसैले उसको रगत नरित्तिएसम्म एक थोपा पनि भुइँमा नखसाई पिउनुपर्ने हुन्थ्यो।
शिव र अन्धकको युद्ध हुनुको कारण थियो पार्वती।
शिव-शक्ति
‘परशक्ति’ सँग सम्बन्धित वैदिक ग्रन्थहरूका अनुसार, यो ब्रह्माण्डको रचना हुनुभन्दा पहिले त्यहाँ केवल एक चीज थियो- ‘परशक्ति’, जसको असीमित र अनन्त शक्ति थियो। यसलाई विज्ञानशास्त्रमा ‘ब्ल्याक होल सिङ्गुलारिटी’ (Black Hole Singularity) पनि भनिन्छ। फेरि विज्ञानले नै भन्छ कि ऊर्जाको कुनै न कुनै रूप हुनुपर्छ, रूप बिना ऊर्जाको कुनै अस्तित्व हुँदैन।
त्यसैले त्यो भयंकर शक्ति भएको परशक्ति अनियन्त्रित भएर बिस्फोट हुन पुग्यो र अन्य कैयौँ शक्तिका रूपहरूमा परिवर्तन हुन पुग्यो। जसलाई विज्ञानमा ‘बिग ब्याङ्ग सिद्धान्त’ (The Big Bang Theory) पनि भनिन्छ। यहि शक्तिका रूपहरूलाई वेदमा ‘देवी’ नाम दिइएको छ।
बिस्फोटकै शक्तिको कारणले ब्रह्माण्डको सृष्टि हुन गयो, तर अव्यवस्थित ढङ्गले, जहाँ कुनै कुराको क्रम थिएन। पछि यिनै शक्तिहरूबीचको सम्बन्धबाट गुरुत्वाकर्षण बलको सृजना भएपछि ब्रह्माण्डमा क्रम मिल्दै गयो र परशक्ति विभिन्न अङ्गहरू ‘ब्रह्मा’ (सृष्टि गराउने शक्ति), नारायण (जीवन दिने शक्ति) र रुद्र (संहार गर्ने शक्ति)मा प्रकट हुन पुग्यो।
शक्तिलाई कुनै स्थिर रूपमा प्रकट गराउँदा आउने एउटा समस्या भनेको ती शक्तिलाई एकठाउँमा मिलाएर राख्दा कतिपय शक्तिहरू खेर जाने हुन्छन्। त्यसैले यी तीन परशक्ति (ब्रह्मा, नारायण र रुद्र)हरूको साथमा आ-आफ्नै अप्रकट शक्तिहरू छरिएर रहन गए। जसलाई विज्ञानमा ‘फ्री इनर्जी’ (Free energy) भनिन्छ।
यी अप्रकट शक्तिहरूको कुनै स्थिर रूप र विशेषता हुँदैन, त्यसैले तिनका पूर्ण रूप (त्रीमर्ती)ले तिनीहरूलाई बेला-बेलामा प्रकट गरेर विशेष रूप दिनुपर्ने हुन्छ। ब्रह्मा भनेको सृष्टि गराउने शक्ति हो जसलाई बुद्धि र ज्ञानको खाँचो पर्दछ, त्यसैले ब्रह्माले आफ्नो अप्रकट शक्तिलाई ‘ज्ञान’ (सरस्वती)को रूपमा प्रकट गरिराख्नुपर्दछ। त्यसरी नै जीवन दिने शक्तिलाई धनको खाँचो पर्दछ, जसको लागि नारायणले लक्ष्मीलाई प्रकट गराउनुपर्दछ। अन्त्यमा, संहार गर्ने रुद्रको लागि केवल एक चीजको खाँचो पर्दछ- शक्ति। त्यसैले शिवले ‘शक्ति’ (पार्वती)लाई प्रकट गराउनुपर्दछ। तथापी, ‘शक्ति’लाई पनि अवस्थाअनुसार विभिन्न रूपमा प्रकट गराउन सकिन्छ- नवदुर्गा, अष्टविद्या, आदि।
काली
त्यस्तै एउटा अवस्था सृजना भएको थियो, जब पार्वतीले आफ्नै पुत्र अन्धकलाई मार्न सकिरहेकी थिइनन्। तसर्थ पार्वती आफै केवल अन्धकारले भरिएको शुद्ध विनाशकारी शक्ति (अस्थिर रूप)को रूपमा प्रकट हुन्छिन्– काली। आणविक बम जस्तै, विनाशकारी तर अस्थिर।
कालीले अन्धकलाई अन्धाधुन्ध तरिकाले काटेको काटेइ गरिन् र रगतलाई भुइँमा झर्नै नदिई दुई हातमा बटुकोले थापेर पिउन थालिन्। अन्धकले जति चोटि प्रकट हुने कोशिस गरेपनि कालीले उसको टाउको काट्दै माला बनाउँदै आफ्नो पुरै शरीरलाई रङ्गाउन थालिन्।
पार्वतीको यस्तो भयंकर र अस्थिर रूप देखेर शिवले उनलाई नियन्त्रण गर्न खोजे तर सकेनन्। उल्टो कालीले शिवको छात्तीमा टेकेर शिवलाई अचल बनाइराखिन् र अन्त्यमा अन्धकको वध गरेरै छाडिन्।
तन्त्र-मन्त्र
तर, काली अझै स्थिर हुन सकिनन् र त्यहाँबाट भागिन्। भाग्दा भाग्दै उनले एकठाउँमा पुगेर तान्त्रिक विद्या जानेका मानिसहरूलाई भेटिन्। यी मानिसहरूले तान्त्रिक विद्याको मद्दतले काली (अस्थिर शक्ति)लाई एक तान्त्रिक रूपमा बाँधेर राखिदिए, जहाँ काली स्थिर त भइन् तर अलिअलिमात्रै।
पछि उनीहरूले शिवबाट उच्च कोटिको तान्त्रिक विद्या हासिल गरेपछि कालीलाई अझ बलियो गरेर बाँधिदिए र स्थिर बनाएर राखे। अब उनीहरूसँग असीमित शक्ति थियो, जसलाई उनीहरूले आफूले चाहेअनुसार प्रयोग गर्न सक्थे।
खराब मानिस
तर, दुर्भाग्यवश! ती मानिसहरूले कालीको शक्तिलाई जनहीतको लागि प्रयोग गर्नुको सट्टा आफ्नै स्वार्थपूर्तीको लागि प्रयोग गर्न थाले, आखिरमा मान्छे त परे। उनीहरू यसरी स्वार्थको मार्ग हिँड्न थालेपछि तान्त्रिक विद्याबाट बाँधिएकी स्थिर अवस्थामा भएकी कालीले ती मानिसहरूलाई आफ्नो शक्ति झिक्नलाई प्रतिबन्ध लगाइन्। तर मानिसहरू पनि चलाख थिए, त्यसैले उनीहरूले कालीलाई क्रोधित बनाउने निर्णय गरे, ताकि कालीले शक्ति दिनुभन्दा अगाडि केहि नसोचुन्।
कालीलाई क्रोधित बनाउनको लागि उनीहरूले मान्छेको खप्पर, लास र अन्य नकारात्मक वस्तुहरू चढाउन थाले। त्यतिबेलासम्म कालीले क्रोधलाई आफ्नै वशमा राख्न सकेकी थिइन् तर अन्त्यमा ती मानिसहरूले मान्छेकै बली चढाए र कालीलाई क्रोधित बनाएर उसबाट असीमित शक्ति चोरे।
यसरी शिवबाट पाएको कालो विद्याको तन्त्र-मन्त्रको मद्दतले कालीबाट असीमित शक्ति निकालेर उनीहरूले आफूले चाहेअनुसार त्यो शक्तिलाई प्रयोग गर्न थाले। त्यो तन्त्र विद्याको बारेमा उनीहरूलाई मात्रै थाहा थियो। शिवकै विद्या भएको कारणले स्वयं शिवले पनि उनीहरूलाई केहि गर्न सक्दैनथे। त्यसैले विष्णु र ब्रह्मा मिलेर ती मानिसहरूको सारा खान्दानलाई नै नष्ट गरिदिए।
अहिलेका केहि मानिसहरूलाई तान्त्रिक छन्द र भजनहरू (जसले कालीको शक्तिलाई निकाल्न सक्छ)को बारेमा केहि ज्ञान भएको मानिन्छ तर कालीको शक्तिलाई नियन्त्रण गरेर फेरि बाँधेर राख्ने तन्त्रको ज्ञान भने त्यहि प्राचीन मानिसहरूसँगै बिलाएर गएको मानिन्छ।
तल को बक्समा क्लिक गर्नुहोस
Reviewed by Guru
on
7:53 PM
Rating:
No comments: